अजेन्द्र वाईबा तामाङ
वैशाख,१२-पाँचथर । पाँचथरको फिदिम नगरपालिका द्वारा फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई करिब १० लाख रुपैयाँ बराबरको पाइप हस्तान्तरण गरेको छ ।
नगरपालिकाका प्रतिनिधि शान्तिराम तिमसिना मार्फत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
नगरपालिका द्वारा प्रदान गरिएको सामाग्रीहरु अन्तर्गत २० एम.एम.का ९ हजार मिटर, ४० एम.एम.का १ हजार मिटर र २०० एम.एम.का ११४ मिटर पाइप उपलब्ध गराइएको छ।
उक्त सामाग्री फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङको उपस्थितिमा शनिबार हस्तान्तरण गरिएको जनाइएको छ।
गत असोज १८ र १९ गते परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले फिदिम खानेपानीको आप्तेवा र तितेवा खोलाबाट आउने मुख्य खाेलामा क्षति पुर्याएको थियो। उक्त विपद्का कारण १३ स्थानमा पाइपलाइन बगाएपछि खानेपानी सेवा अवरुद्ध बनेको थियो। अहिले तितेवा र नाम्दु खाेलाबाट बैकल्पिक रूपमा पानी ल्याएर बितरण गर्दै आएता पनि पुनःनिर्माण कार्य सुरु गर्न नगरपालिकाले उक्त सहयोग गरेको जनाइएको छ।
फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले, खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ तथा सचिव कमल बास्कोटा सह सचिव डने शेर्पाको सक्रियतामा पुनःनिर्माणको काम तत्काल अघि बढाउने उदेश्यले सहयोग गरेको जनाईएकाे छ।
हाल फिदिम नगरपालिका वडा नम्बर १, २ र ४ का २ हजार ९ सय ६४ घरधुरीमध्ये २ हजार ३ सय ३४ घरधुरीमा खानेपानी सेवा सञ्चालनमा रहेको छ।
यसैबीच, अध्यक्ष प्रकाश गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि उपभोक्तालाई राहत दिने उद्देश्यले खानेपानी महशुल पनि घटाइएको छ। बजार क्षेत्रमा प्रतिमहिना २८५ रुपैयाँ लिइँदै आएको महशुल घटाएर २४६ रुपैयाँ कायम गरिएको छ भने ग्रामीण क्षेत्रमा २२१ रुपैयाँ निर्धारण गरिएको छ।
फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नगरका तीन वडामा खानेपानी वितरण गर्दै आएको छ र हाल २ हजार ३ सय ३४ घरधुरीले सेवा उपभोग गरिरहेका छन्।


