मेची राजमार्ग विस्तारका लागि १५ मिटरभित्रका संरचना हटाउन ३५ दिने सूचना जारि




अजेन्द्र वाईबा तामाङ

जेष्ठ १३, पाँचथर । मेची राजमार्ग अन्तर्गत जोरकलश–फिक्कल–डलाम–राँके–हेवाखोला–गोपेटार–कावेली–सुकेटार सडक खण्डको दायाँ–बायाँ १५/१५ मिटर क्षेत्रभित्र रहेका घर, टहरा तथा अन्य संरचना हटाउन सडक डिभिजन कार्यालय इलामले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

आज प्रकाशित गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरिएको सूचनामा सडक विस्तार तथा स्तरोन्नतिको कार्यलाई प्रभावकारी बनाउन सडक सीमाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना तोकिएको समयभित्र स्वेच्छाले हटाउन आग्रह गरिएको उल्लेख छ।
सूचनाअनुसार सडक क्षेत्राधिकारभित्र पर्ने घर, पसल, टहरा, पर्खाल लगायतका संरचना ३५ दिनभित्र नहटाए कानुनबमोजिम हटाउने प्रक्रिया अघि बढाइने जनाइएको छ। साथै, तोकिएको अवधिभित्र संरचना हटाउँदा हुने क्षति तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्ने बताइएको छ।
सडक विस्तारसँगै यातायात सेवा सहज, सुरक्षित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायले भने कानुनी प्रक्रिया र सार्वजनिक हितलाई ध्यानमा राखेर काम अघि बढाइने जनाएको छ।