व्यवसायीको प्रश्न : राज्यलाई कर चाहिने, तर व्यवसाय गर्न नदिने ?



बिर्तामोड, झापा । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका रात्रीकालीन व्यवसायीहरूले आफूहरू राज्यको अभिन्न अंग भए पनि दमनकारी व्यवहारको सिकार बन्नुपरेको गुनासो गरेका छन्। कर तिर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउने व्यवसायीहरूलाई अपराधीसरह व्यवहार गरिनु दुःखद भएको उनीहरूको भनाइ छ।

झापाको बिर्तामोडमा सञ्चालनमा रहेका रेष्टुरेन्ट तथा अन्य रात्रीकालीन व्यवसायका सञ्चालकहरूका अनुसार सुरक्षा प्रदान गर्नुपर्ने निकायबाट नै पटक–पटकको हस्तक्षेप, कर्मचारीमाथि दुर्व्यवहार, पक्राउ तथा अपमानजनक व्यवहार हुने गरेको छ। कुनै झगडा, उजुरी वा आपराधिक गतिविधिको प्रमाणबिना नै व्यवसायिक प्रतिष्ठानहरूमा प्रवेश गरी कर्मचारीलाई नियन्त्रणमा लिने घटनाले व्यवसायीहरूमा असुरक्षाको भावना बढाएको उनीहरूको दाबी छ।

व्यवसायीहरू भन्छन्, “राज्यलाई नियमित कर बुझाउने, सयौं युवालाई रोजगारी दिने र शहरको आर्थिक गतिविधि बढाउने क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा दबाब र त्रास सिर्जना गरिनु दुर्भाग्यपूर्ण हो। सुरक्षा दिने निकायबाटै दमनको अनुभूति हुँदा लगानीकर्ताको मनोबल खस्किन्छ।”

पछिल्लो समय बिर्तामोड पूर्वी नेपालको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्रका रूपमा विकास भइरहेको छ। आधुनिक रेष्टुरेन्ट, क्याफे र मनोरञ्जनस्थलहरूले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेका छन्। तर यस्ता व्यवसायप्रति सकारात्मक दृष्टिकोण अपनाउनुको सट्टा नियन्त्रणमुखी सोच हावी हुँदा लगानी वातावरण प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।

उनीहरूका अनुसार रात्रीकालीन व्यवसाय केवल मनोरञ्जनसँग मात्र सम्बन्धित विषय नभई पर्यटन, होटल, यातायात, कृषि उत्पादन, खाद्य आपूर्ति र रोजगारीसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। विश्वका विकसित शहरहरूमा २४ घण्टा आर्थिक गतिविधि सञ्चालन हुने उदाहरण दिँदै व्यवसायीहरूले नेपालमा पनि रात्रीकालीन अर्थतन्त्रलाई व्यवस्थित र सुरक्षित रूपमा विस्तार गर्नुपर्ने बताएका छन्।

व्यवसायीहरूले सरकारले रात्रीकालीन व्यवसायलाई नियमनसहित प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने, सुरक्षा निकायले व्यवसायमैत्री व्यवहार अपनाउनुपर्ने तथा लगानीकर्ताको सम्मान र सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा, “देशमा लगानी गरेर युवालाई रोजगारी दिनेहरूलाई हतोत्साहित गर्ने होइन, प्रोत्साहन गर्ने वातावरण आवश्यक छ।”

उनीहरूले सरकारको ध्यान रात्रीकालीन अर्थतन्त्रको विकासतर्फ जानुपर्ने, आवश्यक कानुनी व्यवस्था मिलाएर चरणबद्ध रूपमा २४ घण्टा व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने र व्यवसायलाई शंकाको दृष्टिले होइन, आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

स्थानीय व्यवसायीहरूको निष्कर्ष छ— “व्यवसायीलाई अपराधी होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा व्यवहार गरिए मात्र लगानी बढ्छ, रोजगारी सिर्जना हुन्छ र युवाहरू विदेशिन बाध्य हुने अवस्था कम हुन्छ।”