प्रदेश सरकारको ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो, निर्माण गुणस्तरमाथि प्रश्न



अजेन्द्र वाईबा तामाङ

जेष्ठ २९,पाँचथर । कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना नपुग्दै ढलेपछि निर्माण कार्यको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।

पतञ्जलि योग समितिको भवनलाई भूक्षय तथा पहिरोको जोखिमबाट जोगाउने उद्देश्यले निर्माण गरिएको उक्त वाल हाल पूर्ण रूपमा भत्किन नपाई छिमेकीको घरले थामेर अडिएको अवस्थामा रहेको छन्। वाल ढलेर छिमेकी घरतर्फ झुकेको र सोही घरको संरचनाले थामेकाले थप क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार यदि छिमेकी घरको संरचनाले वाललाई नथामेको भए ठूलो दुर्घटना हुन सक्ने अवस्था थियो। यसले निर्माण कार्यमा फाउन्डेसनको जग र त्यहाँ प्रयोग गरिएका सामग्री, डिजाइन, प्राविधिक मूल्याङ्कन तथा अनुगमन प्रक्रियामाथि प्रश्न खडा गरेको छ।
स्थानीयवासीले पाँचथर जिल्लाका विभिन्न ठाँउमा सरकारी बजेटबाट निर्माण गरिएका संरचनाहरू निर्माण सम्पन्न भएको छोटो समयमै क्षतिग्रस्त हुनु दुःखद र चिन्ताजनक भएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा जोखिमयुक्त अवस्थाको तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
हाल वाल ढल्किएर छिमेकी घरको सहारामा रहेको अवस्थामा कुनै पनि बेला थप क्षति हुन सक्ने जोखिम देखिएकाले स्थानीय त्रसित बनेका छन्। सरोकारवाला निकायले तत्काल प्राविधिक निरीक्षण गरी आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने मागसमेत उठेको छ।
यस विषयमा सम्बन्धित निर्माण पक्षले माथिबाट पानीको भल आएर साे वाल भत्केको बताईएकाे छ।