धरान ः धरान आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिका–९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
संखुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना सवार को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २ः४० बजे अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनापछि कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा मूलघाट सडकखण्ड केही समय अवरुद्ध बनेको थियो । हाल उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने केहीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
घाइते हुनेहरूमा धरान–११ का सबिता थापा ,आरुस थापा, मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का अमृता तामाङ उहाँकी छोरी सृयान्सी तामाङ, संखुवासभाको धर्मदेवी नगरपालिका–१ का अनिसा कटुवाल,धनकुटाको महालक्ष्मी नगरपालिका–६ का सङ्गीता राई रहेका छन् ।
त्यसैगरी संखुवासभाको धर्मदेवी नगरपालिका–१ का पवित्रा कटुवाल, मोरङको कानेपोखरी गाउँपालिका–६ का काचक्रबहादुर तामाङ, संखुवासभाको धर्मदेवी नगरपालिका–३ का संजिला खत्री, सोही स्थानका बस सहचालक इन्द्रबहादुर तामाङ, धर्मदेवी नगरपालिका–१ का देवीमाता कार्की,धर्मदेवी नगरपालिका–९ का निरबहादुर महत्त घाइते हुनु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


