धरान :नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका शिव राज श्रेष्ठ पुन आफ्नै पुरानो पार्टीमा फर्किएका छन् ।
केही वर्षअघि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कांग्रेस छाडेका उनी आज शनिवार औपचारिक रूपमा कांग्रेसमै फर्किएका हुन् । एमालेमा रहँदा उनले नगर कार्यसमितिको आर्थिक संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
कांग्रेसमा पुन प्रवेश गर्दै श्रेष्ठले पार्टी सभापति थापाप्रति भरोसा जागेकाले अब बाँचुन्जेल कांग्रेस नछाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूलाई पार्टीमा फर्किन निरन्तर प्रोत्साहन गर्ने नेता चन्द्रप्रसाद श्रेष्ठ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, नगर उपसभापति प्रविन राई लगायतका साथीहरूलाई धन्यवाद दिँदै अब पार्टीमा सक्रिय भूमिका निभाउने बताए ।
राजनीतिक एवं सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका श्रेष्ठलाई नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद चन्द्रप्रसाद श्रेष्ठले टीका र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य सन्तोष वि.क जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला सदस्यद्वय चन्द्र नेपाल र निर्मला नेपालको उपस्थिति रहेको थियो ।
त्यस्तै, संसदीय दल धरानका नेता एवं नगर उपसभापति नरेन्द्र कुमार राई (प्रविन), महाधिवेशन प्रतिनिधिहरू चन्द्रशेखर लामा, ललिता अधिकारी शर्मा, निलकुमारी गिरी थापा, रवि राई र राजु शाह, नेपाल महिला संघकी केन्द्रीय सदस्य कुशुम ओली, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठले पनि उनलाई स्वागत गरेका थिए ।
कार्यक्रममा क्षेत्रीय सदस्यहरू दिनेश श्रेष्ठ, भवानी ओझा, सुमन श्रेष्ठ (तखाछे) र शिखा चेम्जोङ, प्रदेशसभा १(१) सचिव युवराज शंकर, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेशसभा १(१) सहसचिव हरि ओझा, नगर सहसचिव शिला बज्रचार्य, वडा सभापति रुपेश आचार्य र नेविसंघका पूर्व केन्द्रीय सदस्य सागर प्रसाई लगायतको उपस्थिति थियो । उपस्थित नेता-कार्यकर्ताहरूले श्रेष्ठलाई अबिर र खदा लगाएर सम्मानपूर्वक पार्टीमा स्वागत गरेका थिए ।


