अजेन्द्र वाईबा तामाङ
श्रावण २, फिदिम । श्रम संस्कृति पार्टीले सञ्चालन गरिरहेको “हप्ताको एक दिन श्रम गरेर आफ्नो गाउँ–ठाउँ बनाऔँ” भन्ने राष्ट्रिय अभियानअन्तर्गत शनिबार पाँचथरको फिदिम नगरपालिकामा वृहत् श्रमदान कार्यक्रम सम्पन्न भएको छ।

श्रम संस्कृति पार्टी वडा नं. २ का अध्यक्ष खेमराज तुम्बापोको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पार्टीका पाँचथर जिल्ला अध्यक्ष प्रविन चाम्लिङ, जिल्ला सदस्य गजेन्द्र राई र कमल जबेगु, वडा नं. २ का अगुवा श्रमदाता अबि सुब्बा तुम्बापो, फिदिम नगरपालिका–१० का वडा अध्यक्ष तथा पार्टीका सल्लाहकार होमराज थाम्सुहाङ लगायत विभिन्न क्षेत्रका करिब ७० जना श्रमदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
फिदिम नगरपालिका वडा नं. १ र २ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. २ को ओदिनबाट सल्लेरी, बान्द्रे, फुस्रे हुँदै जोरसाल जाने पुरानो गोरेटो मूलबाटो सरसफाइ तथा व्यवस्थित गर्ने कार्य गरिएको थियो। लामो समयदेखि प्रयोगमा रहेको ऐतिहासिक पदमार्गलाई पुनः व्यवस्थित बनाउन गरिएको श्रमदानले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
श्रम संस्कृति पार्टीले देशभर सञ्चालन गरिरहेको यो अभियानले श्रमको सम्मान, सामाजिक एकता, सामुदायिक सहभागिता तथा स्थानीय पूर्वाधार संरक्षणमा महत्वपूर्ण योगदान पुर्याइरहेको जनाएको छ। आफ्नै श्रमबाट समाज परिवर्तन सम्भव छ भन्ने सन्देशसहित पार्टीले आगामी दिनमा पनि देशभर नियमित रूपमा यस्ता श्रमदान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
स्थानीयवासीहरूले पनि सामूहिक श्रमदानको संस्कृतिले विकास निर्माणमा जनसहभागिता बढाउनुका साथै सामाजिक सद्भाव र अपनत्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।


