अजेन्द्र वाईबा तामाङ
श्रावण १०, फिदिम। पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुमा शनिबार नौमती बाजासहित परम्परागत बेठी उत्सव उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईंको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा आयोजना गरिएको उक्त बेठीमा परिवारजन, छिमेकी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बिहानैदेखि चापागाईंको घरमा चहलपहल बढेको थियो। महिलाहरू कोही खाना पकाउने, कोही फलाहार तयार गर्ने, कोही दोपहर (पुवा) बनाउने तथा कोही दुना–टपरी गाँस्ने काममा व्यस्त थिए। यसैबीच नौमती बाजा बजाउँदै बाजागाजाको टोली घरमा आइपुगेपछि उनीहरूको स्वागत तथा भोजनको व्यवस्था गरिएको थियो।
भोजनपछि करिब १०० जनाको टोली बेँसीतर्फ प्रस्थान गरेको थियो। अघिअघि नौमती बाजा गुञ्जिरहेको थियो भने पछिपछि स्थानीयहरू गीत गाउँदै र नाच्दै अघि बढेका थिए। करिब डेढ घण्टाको पैदल यात्रापछि टोली फिदिम नगरपालिका–५, चोकमागुको मताने बेँसी पुगेको थियो।
खेतमा पुगेपछि गोरु जोतेर रोपाइँको तयारी गरिएको थियो। ब्याडेहरूले धानको बीउ काढ्ने, बाउसेहरूले हिलो तयार पार्ने तथा रोपाहारहरूले फ्याउरी र दाँते लगाउँदै धान रोप्ने कार्य गरेका थिए। रोपाइँका क्रममा सहभागीहरूले एकअर्कालाई हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरेका थिए, जसले बेठीको रौनक अझ बढाएको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले बेठी नेपाली समाजको सामूहिक श्रम, आपसी सहयोग, एकता र मौलिक संस्कृतिको जीवन्त उदाहरण भएको उल्लेख गर्दै यस्ता परम्पराको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्थानीयका अनुसार आधुनिक कृषि प्रविधिको विस्तारसँगै गाउँघरमा बेठी प्रथा हराउँदै गए पनि पाँचथरका केही स्थानमा अझै सामूहिक रूपमा यसलाई निरन्तरता दिइँदै आएको छ। यस वर्षको बेठीले परम्परागत कृषि संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढाउनुका साथै सामाजिक सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।


