बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सोमबार कृषिथोकमा रहेको बुधबारे हटियाका टहरा लगायतका संरचना हटाउन एकैसाथ सात वटा डोजर चलाएको छ ।
नगरको डोजर पसल भत्काउन अघि बढेपछि व्यापारीहरुद्वारा अवरोधको प्रयास भएको थियो । यद्यपी डोजर भने रोकिएन । सो क्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतका व्यवसायी अगुवाहरु डोजरमा चढेर चालकलाई गाडी अघि नबढाउन दवाव सिर्जना गरेका थिए । तर डोजर नरोकिएपछि वाणिज्य संघका नेताहरु पछि हटेका थिए ।
सुरुमा स्थानीय पसल सञ्चालकहरु पनि डोजर रोक्ने प्रयासमा लागेका थिए । डोजर नरोकिएपछि व्यवसायीहरु आक्रोशित हुँदै आफ्ना सामान पोको पारेर सिटी रिक्सामा हाली सुरक्षित स्थानमा सार्न बाध्य भएका थिए ।
अवरोधका क्रममा व्यवसायीले डोजरमा ढुंगा हान्दा एउटाको सिसा फुटाएका छन् । बिर्तामोड–५ स्थित बुधबारे हटियामा १९४ वटा पसल रहेका थिए ।
सोमबार मध्याह्नदेखि चलेका डोजरले अधिकांश पसल भत्काइसकेका छन् ।