फिदिम, साउन २२ (अजेन्द्र वाईबा तामाङ) – फिदिम नगरपालिका–२ स्थित नयाँ बसपार्क क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।
परमेश्वरको मण्डलीको आयोजनामा सम्पन्न अभियानमा मण्डली प्रमुख देवेन्द्र हुमागाईंको अध्यक्षतामा ३० जना स्वयंसेवक सहभागी भई करिब एक किलोमिटर सडक क्षेत्र सरसफाइ गरेका हुन्।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष दिनानाथ अधिकारीले सरसफाइ स्थानीय सरकारको जिम्मेवारी भए पनि स्वयंसेवकहरू स्वप्रेरित रूपमा समुदायको हितमा जुट्नु प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता अभियानले वातावरण संरक्षणसँगै नागरिकमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो।
सरसफाइ अभियानप्रति नजिकैको विद्यालयका प्रधानाध्यापक तथा स्थानीय बासिन्दाले समेत सकारात्मक प्रतिक्रिया जनाएका थिए।
आयोजकका अनुसार मण्डलीले दिगो वातावरण संरक्षण, विपद् राहत, रक्तदान तथा जलवायु परिवर्तन प्रतिरोधलगायत सामाजिक सेवामूलक कार्यक्रम विश्वका विभिन्न देशमा सञ्चालन गर्दै आएको छ। मण्डली १७५ देशमा सक्रिय रहेको तथा हालसम्म ३० हजारभन्दा बढी समाजसेवामूलक गतिविधि सञ्चालन गर्नुका साथै विभिन्न सरकार र संस्थाबाट ५ हजारभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरेको जनाएको छ।


