झापा । नेपाली कम्युनिस्ट पार्टी झापा गाउँसमितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बुधबार झापा गाउँपालिका–७ स्थित कनकाई बायोष्याण्ड फिल्टर उद्योग परिसरमा आयोजित कार्यक्रममा रुद्र बजगाईको संयोजकत्वमा ४५ सदस्यीय गाउँसमिति चयन गरिएको छ। समितिको सह–संयोजकमा देवी अधिकारी, तेजनारायण राजवंशी, टीका बिक, पूर्णबहादुर लिम्बू र टेकेन्द्र बराल चयन भएका छन्।
नवगठित गाउँसमितिको घोषणा प्रदेश सदस्य तथा झापा गाउँपालिका इन्चार्ज ज्यावुल हकले गरेका थिए। घोषणापछि कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संयोजन कार्य समितिका सदस्य विजय साम्पाङ ‘मणि’ले नवगठित समितिका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साम्पाङले नयाँ भनिएका राजनीतिक दल तथा तिनका सरकारले सुकुम्बासी, गरिब तथा निमुखा जनताको पक्षमा अपेक्षित काम गर्न नसकेको आरोप लगाए। उनले सामाजिक सञ्जालका एल्गोरिदमको प्रभावबाट उदाएका नयाँ भनिएका राजनीतिक दलको पछाडि लाग्नुभन्दा पार्टीको विगतको गौरवशाली इतिहास, वर्तमानका चुनौती र भविष्यका सम्भावनालाई ध्यानमा राखेर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे। त्यस्तै, क्षणिक असहज परिस्थितिको सामना गर्दै संगठनलाई मजबुत बनाउन तयार रहनुपर्नेमा पनि साम्पाङले जोड दिए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज वासु दुलाल, केन्द्रीय सदस्य तथा झापा जिल्ला संयोजक खड्ग तिम्सिना ‘पवन’, केन्द्रीय सदस्य तथा प्रदेश युवा तथा खेलकुद विभागका सह–इन्चार्ज गौरिमान राई लगायतले प्रशिक्षणात्मक शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
प्रदेश सदस्य तथा गाउँसमितिका सह–इन्चार्ज ईश्वरीप्रसाद दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रम गाउँसमिति संयोजक रुद्र बजगाईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन जगतनाथ पौडेलले गरेका थिए।


