‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ पाँचथरमा श्रम संस्कृतिको श्रमदान



अजेन्द्र वाईबा तामाङ
भदौ ६, फिदिम

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नारासहित श्रम संस्कृति पार्टी पाँचथरले शनिबार फिदिममा सरसफाइ तथा श्रमदान कार्यक्रम गरेको छ। पार्टीको आयोजनामा फिदिम नगरपालिका–१, २ र ४ का स्थानीय तथा कार्यकर्ताको संयुक्त सहभागितामा भएको श्रमदानमा करिब २५० जनाको सहभागिता रहेको थियो।

सहभागीहरूले फिदिम नगरपालिका–४ स्थित क्याम्पस मोडदेखि गाडी चिसापानी हुँदै फिदिम नगरपालिका–४ को वेलफेयर क्षेत्रसम्म सडकका नाली तथा सडक आसपासको क्षेत्रमा सरसफाइ गरेका थिए।

श्रम संस्कृति पार्टीले पाँचथरमा प्रत्येक शनिबार नियमित रूपमा श्रमदान गर्दै आएको जनाएको छ। स्थानीय विकास निर्माण तथा सरसफाइका काममा नागरिकको प्रत्यक्ष सहभागिता बढाउँदै राज्यको लगानीसमेत बचत गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको पार्टीको भनाइ छ।

कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य गजेन्द्र राई, जिल्ला अध्यक्ष प्रविन चाम्लिङ, जिल्ला सदस्य होमराज थाम्सुहाङ तथा जिल्ला सदस्य एवं कानुनी सल्लाहकार तुम्याहाङ नेम्वाङलगायतको उपस्थिति थियो।

त्यस्तै, फिदिम नगरपालिका–१ का वडा संयोजक राम राना, वडा नं. २ का वडा संयोजक खेमराज तुम्बापो, वडा नं. ४ का संयोजक विष्णु राई, वडा नं. २ का अगुवा श्रमदाता अबि सुब्बा तुम्बापो, फिदिम नगरपालिका–४ का वडा अध्यक्ष उपेन्द्र लावतीलगायत अगुवा तथा स्थानीय श्रमदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

श्रमदानमा सहभागीहरूले विकास निर्माण र सरसफाइका काममा राज्यको मात्रै मुख नताकी नागरिक स्वयं पनि जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए। स्थानीयस्तरमा उपलब्ध जनशक्ति र सामूहिक श्रमको सदुपयोग गर्दै आफ्नो गाउँ–ठाउँ आफैँ सफा, व्यवस्थित र विकासमुखी बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरेका छन्।