बिर्तामोड, भदौ ९ । झापाको बिर्तामोडस्थित सैनिकमोड क्षेत्रमा सञ्चालित होटलमा यौनजन्य गतिविधि हुने गरेको गुनासोपछि प्रहरीले छापा मारेर होटल सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ६ जना महिला र ७ जना पुरुष रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडको टोलीले सोमबार राति सैनिकमोड क्षेत्रमा रहेका विभिन्न होटलमा छापा मारेको हो।
प्रहरीका अनुसार बिर्तामोड–३ सैनिकमोडमा सञ्चालित होटलका सञ्चालक प्रकाश घिमिरे र गंगा गुरुङसहित त्यहाँ भेटिएका युवती तथा पुरुषलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले सेभेन इन, आसाम लगायतका होटलमा छापा मारेको जनाएको छ।
यौनजन्य गतिविधिका लागि युवती राखेर होटल सञ्चालन भइरहेको गुनासो बढेपछि प्रहरीले सैनिकमोड क्षेत्रका होटलमा सर्च अपरेसन थालेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सैनिकमोड क्षेत्रमा रहेका तीनवटा आँखा अस्पतालमा उपचारका लागि आउने भारतीय सेवाग्राहीलाई लक्षित गरी केही होटलमा यौनजन्य गतिविधि हुने गरेको गुनासो प्रहरीसमक्ष आएको बताइएको छ।
प्रहरीले अनैतिक तथा यौनजन्य गतिविधि हुने गरेको गुनासो आएका होटलमा खोजी तथा अनुसन्धानलाई निरन्तरता दिने जनाएको छ।


