विद्युत् महसुलको बक्यौता असुल गर्न माग गर्दै पाँचथरमा हस्ताक्षर अभियान



अजेन्द्र वाईबा तामाङ
भदौ ९, पाँचथर

सरकारले विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (VAT) हटाउन तथा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत लामो समयदेखि बाँकी रहेको बक्यौता रकम असुल गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको बृहत् हस्ताक्षर अभियानअन्तर्गत पाँचथरमा पनि हस्ताक्षर संकलन सुरु गरिएको छ।

उज्यालो नेपाल पार्टी पाँचथरको आयोजनामा फिदिमस्थित गणतन्त्र चोकमा सोमबारदेखि सुरु भएको अभियानको पहिलो दिन ३५० जनाले हस्ताक्षर गरेका छन्। दुई दिनसम्म सञ्चालन हुने अभियान भोलिसम्म जारी रहने आयोजकले जनाएको छ।

विद्युत् क्षेत्रमा देखिएका समस्या समाधान, उपभोक्तामाथिको आर्थिक भार न्यूनीकरण तथा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत लामो समयदेखि बाँकी रहेको बक्यौता रकम प्रभावकारी रूपमा असुल गर्न सरकारलाई दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन गरिएको आयोजकले जनाएको छ।

अभियानमा उज्यालो नेपाल पार्टीका प्रदेश सचिवालय सदस्य रोशन लावती, प्रदेश प्रवक्ता प्रविन राई, प्रदेश सदस्य भावना ईवा, जिल्ला अध्यक्ष दिलेन्द्र कुरुबाङ, जिल्ला सदस्यहरू प्रकाश राई र सेशेहाङ लावतीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम जिल्ला अध्यक्ष दिलेन्द्र कुरुबाङको अध्यक्षतामा सञ्चालन भइरहेको छ।

आयोजकका अनुसार अभियानमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको छ। पहिलो दिन नै ३५० जनाले हस्ताक्षर गरेकाले दोस्रो दिन थप नागरिक सहभागी हुने अपेक्षा गरिएको छ।

उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको VAT हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न सरकारलाई दबाब दिने उद्देश्यले देशभर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको जनाएको छ। फिदिममा संकलित हस्ताक्षरलाई अभियानको समग्र विवरणमा समेटेर सम्बन्धित निकायसमक्ष बुझाइने आयोजकले जनाएको छ।