अजेन्द्र वाइबा तामाङ
भदौ २९, मिक्लाजुङ, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमीस्थित युवा वर्षा माध्यमिक विद्यालयमा प्रहरीको नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा इलाका प्रहरी कार्यालय रविको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय नागरिकका गुनासा, समस्या तथा सुझाव संकलन गर्नुका साथै शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणका विषयमा सचेतना प्रदान गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिस कुमार कर्णलगायत सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय नागरिक गरी करिब १२० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या, गुनासा तथा सुझावहरू प्रस्तुत गरेका थिए।
नागरिकबाट प्राप्त गुनासा तथा सुझावलाई सम्बन्धित निकायमार्फत सम्बोधन गर्ने विषयमा समेत कार्यक्रममा छलफल गरिएको थियो। प्रहरी र नागरिकबीच प्रत्यक्ष संवादमार्फत स्थानीयस्तरमा देखिएका सुरक्षा चुनौती तथा सामाजिक समस्याको पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
कार्यक्रममा प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध दुर्व्यसन नियन्त्रण, साइबर अपराधबाट बच्ने उपाय तथा बालविवाह न्यूनीकरण लगायतका विषयमा सहभागीहरूलाई सचेतनामूलक जानकारी प्रदान गरेको थियो।
साइबर अपराधबाट जोगिन सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्न, अपरिचित व्यक्तिसँग व्यक्तिगत विवरण तथा संवेदनशील सूचना आदानप्रदान नगर्न र शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको थियो।
त्यस्तै, लागूऔषध दुर्व्यसन तथा बालविवाहले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिँदै यस्ता सामाजिक विकृति तथा अपराध नियन्त्रणमा प्रहरीसँगै समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताइएको थियो।
नागरिक सुनुवाइ कार्यक्रमले स्थानीय नागरिकका समस्या तथा गुनासा प्रत्यक्ष रूपमा सुन्नुका साथै प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध र सामाजिक विकृति न्यूनीकरण गर्न आगामी दिनमा पनि समुदायसँगको सहकार्यलाई निरन्तरता दिने प्रहरीको भनाइ छ।


