किरात राई यायोक्खा १ नं. प्रदेश समितिको प्रथम अधिवेशन इटहरीमा हुँदै



इटहरी । किरात राई यायोक्खा १ नं. प्रदेश कार्यसमितिको प्रथम ऐतिहासिक प्रदेश अधिवेशन आगामी असोज २ र ३ गते सुन्सरीको इटहरीमा आयोजना हुने भएको छ।

किरात राई समुदायको भाषा, संस्कृति, सभ्यता, भूगोल तथा इतिहासको संरक्षण र सम्मानका लागि बृहत् एकता कायम गर्ने उद्देश्यसहित इटहरी स्थित न्यूगंगा होटलको सभाहलमा आयोजना हुने अधिवेशन आयोजना गर्न लागिएको प्रदेश सचीव राम राईले बताए ।

अधिवेशनलाई किरात राई समुदायको संगठनात्मक एकता सुदृढ गर्ने तथा भाषा, संस्कार, संस्कृति, ऐतिहासिक पहिचान र मौलिक परम्पराको संरक्षणका विषयमा छलफल समेत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
अधिवेशनको मूल सन्देशका रूपमा ‘सभ्यता, संस्कृति, भाषा, भूगोल र इतिहासको सम्मानका लागि बृहत् एकता, सांस्कृतिक भूमिका रक्षा प्रदेशवासीको प्रतिबद्धता’ उल्लेख गरिएको छ।
प्रदेशका १४ वटै जिल्लाबाट प्रतिनिधि तथा सहभागीहरूको उपस्थितिमा हुने अधिवेशनले प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा, संगठन विस्तार तथा समुदायको भाषा–संस्कृति संरक्षणलगायत विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

किरात राई यायोक्खाको प्रदेशस्तरीय पहिलो अधिवेशन भएकाले यसलाई प्रदेश भित्र रहेका किरात राई समुदायको संस्थागत एकता र पहिचानका दृष्टिले महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।