इलामका पहिचानवादी युवानेता रन्जित साम्पाङलाई पितृ शोक



इलाम । इलामको रोङ गाउँपालिका–६, रोम्याङ निवासी तथा पूर्व जनता समाजवादी पार्टी (जसपा) का कोशी प्रदेश सदस्य एवं पहिचानवादी युवा नेता रन्जित साम्पाङ पितृ शोकमा परेका छन्।

साम्पाङका पिता स्वर्गीय भक्तलाल राईको असोज ३ गते निवासमा नै निधन भएको हो। परिवार स्रोतका अनुसार २००५ असोज ३२ गते जन्मिएका राईले ७८ वर्षको उमेरमा देहत्याग गरेका हुन्।

स्वास्थ्यमा पछिल्लो समय समस्या बढ्दै गएपछि स्व. राईको उपचारका लागि परिवारले विभिन्न अस्पतालमा उपचारको प्रयास गरेका थिए। उनी केही महिनादेखि मुटु तथा कलेजोसम्बन्धी समस्याबाट पीडित थिए भने पछिल्लो समय मिर्गौलामा समेत समस्या थपिएकोथियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि छोरा रन्जित साम्पाङले उपचारका लागि उनलाई झापाको बिर्तामोड तथा विराटनगरका विभिन्न अस्पतालमा पुर्‍याएर उपचारको प्रयास गरेका थिए। तर चिकित्सकीय प्रयासका बाबजुद उनको जीवन बचाउन नसकिएको साम्पाङले बताए।

किराती परम्परा तथा संस्कारअनुसार स्व. भक्तलाल राईको अन्त्यस्टी भने असोज ४ गते गरिएको हो। पिता गुमाएको दुःखद् घडीमा नेता साम्पाङसहित शोकसन्तप्त परिवारजनमा आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रबाट समवेदना व्यक्त गरिएको छ।