लिम्बुवान मञ्च झापाको अध्यक्षमा पुनः राजा आङ्थुपो



झापा, असोज १७ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च झापाको अध्यक्षमा राजा आङ्थुपो पुनः निर्वाचित भएका छन्। शनिबार बिर्तामोडमा सम्पन्न मञ्चको आठौँ जिल्ला अधिवेशनले आङ्थुपोलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा करण योङहाङ र तीर्थराज पौडेल, सचिवमा कृष्णबहादुर लिम्बू र मकर लिम्बू, सह–सचिवमा तीर्थ पोमु तथा कोषाध्यक्षमा विवेक साम्सुहाङ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा उमानाथ दमाई, भवानी तुम्बापो, आशिष तुम्बापो, तेजु आङ्देम्बे, सुशान्त साम्पाङ, विचारी लावती, योगेन्द्र माबो, लिलानाथ आङ्देम्बे र रबिहाङ आङ्देम्बे सर्वसम्मत निर्वाचित भएका छन्।

राजा आङ्थुपोको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले गरेका थिए। कार्यक्रममा महासचिव धनराज सुब्बा, उपमहासचिव मानबहादुर साँवा, दिलु लिङ्देन लावती, काजीमान ओक्राबो, प्रान्तीय सचिव ध्रुव लावती, एलभी सह–कमान्डर सुमन सम्बाम्फे, प्रान्तीय सदस्य करण शेर्पालगायतको उपस्थिति रहेको थियो । अधिवेशनमा बोल्ने वक्ताहरूले प्रदेश नं. १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्नु लिम्बुवान आन्दोलनको उपलब्धि भएको बताएका थिए। उनीहरूले लिम्बुवान आन्दोलनले सार्थकता पाउन लागेको दाबी गर्दै लिम्बुवान प्राप्तिको पहिलो चरणको ढोका खुलेकोमा खुशी व्यक्त गरे। पहिचानका आधारमा प्रदेशको नामकरण तथा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित नभएसम्म लिम्बुवानको आन्दोलन जारी रहने पनि उनीहरूको भनाइ थियो।