अजेन्द्र वाईबा तामाङ
असोज १८, थर्पु, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–४ स्थित श्री थर्पु नमुना माध्यमिक विद्यालयलाई सुवेदी परिवारले पाँचतले पक्की भवन हस्तान्तरण गर्नुका साथै विद्यालयको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोषमा पुनः रकम थप गरेको छ। सुवेदी परिवारले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा निरन्तर सहयोग गर्दै आएको विद्यालयले जनाएको छ।
सुवेदी परिवारले विद्यालयलाई जग्गा दान गर्नुका साथै करिब रु. १ करोड ५१ हजार १५१ लागतमा पाँचतले पक्की भवन निर्माण गरी हस्तान्तरण गरेको थियो। आठ आना जग्गामा निर्माण गरिएको भवनमा बाटो, विद्युत् र खानेपानीलगायतका आधारभूत सुविधा उपलब्ध छन्। २०७८ साल फागुन ६ गते धार्मिक विधिअनुसार पूजाआजा तथा पुराण गरी भवन विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। हस्तान्तरण समारोहमा १२ जना पुरोहित तथा पण्डितको सहभागिता रहेको थियो। संकल्प वाचन तथा धार्मिक विधिको नेतृत्व पण्डित राजेन्द्रप्रसाद ढकालले गर्नुभएको थियो।
सुवेदी भेट्स फर्मा तथा न्यू सुवेदी किराना होटल एण्ड लजका सञ्चालक तथा समाजसेवी होमनाथ सुवेदी र देवीमाया बजगाई सुवेदीले २०८३ साल असोज १४ गते अक्षयकोषमा रु. १० हजार थप गर्नुभएको छ। यसअघि रु. ५० हजार १०१ रहेको अक्षयकोषमा रकम थपिएसँगै कुल राशि रु. ६० हजार १०१ पुगेको छ । अक्षयकोषलाई ‘हप्रसु मकदा टिराब तुमाओ’ नामकरण गरिएको जनाइएको छ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर दाहाल तथा विद्यालय परिवारले सुवेदी दम्पतीको योगदानप्रति आभार व्यक्त गरेका छन्। विद्यालयले सुवेदी परिवारको सहयोगले भौतिक पूर्वाधार निर्माणसँगै विद्यार्थीको शैक्षिक वातावरण सुधारमा समेत योगदान पुगेको जनाएको छ। शिक्षा क्षेत्रमा व्यक्तिगत सम्पत्ति तथा स्रोतको उपयोग गर्दै सुवेदी परिवारले गर्दै आएको सहयोग स्थानीय समुदायका लागि समेत अनुकरणीय बनेको विद्यालयको भनाइ छ।


