सुनसरी : भन्सार छली गरी ल्याइएको रु. नौ लाख ८२ हजार ५०० बराबरको किराना तथा खाद्यान्न सामग्रीसहित धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ धरान उपमहानगरपालिका–८ तीनकुनेमा इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान फेला परेको हो ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिनी ट्रक नियन्त्रणमा लिई चालक र दुई जना सहचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका सुचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह त्यसैगरी जहदा गाउँपालिका–१ का ४२ वर्षीय सहचालकहरु भूपेन्द्र राजवंशी र कात्तिक राजवंशी रहेका छन् ।
बरामद सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।


