झापा । झापाको बिर्तामोडस्थित नयाँ बसपार्क तथा आसपासका क्षेत्रमा प्रहरीले सुरक्षा निगरानी र कारबाहीलाई तीव्रता दिएको छ। अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद मण्डलको कमाण्डमा खटिएको टोलीले विभिन्न मितिमा लागुऔषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिदेखि अवैध सामान ओसारपसार र चोरीका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरेको हो।
प्रहरी टोलीले ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ तथा नियन्त्रणमा लिएको छ। उनीहरूबाट लागुऔषध, मोबाइल, नगद तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, कार्तिक ११ गते चार बोरा खुला मडुवा सुर्ती ओसारपसारमा प्रयोग भएको अटो तथा अन्य सवारीसाधन नियन्त्रणमा लिइएको थियो। कार्तिक १५ गते बिलबिजकविनाका कपडा तथा दीपावलीका सामग्री बोकेको अटो बरामद गरिएको थियो। उक्त सामानको अनुमानित मूल्य ३ लाख ८१ हजार ९४० रुपैयाँ रहेको छ।
यसैगरी, कार्तिक १८ गते अर्जुनधारा–११ लक्ष्मीधाप क्षेत्रमा बेवारिसे अवस्थामा राखिएका पटाकाजन्य पदार्थ बरामद गरिएको थियो। ती सामग्रीको अनुमानित मूल्य ३२ हजार ३५५ रुपैयाँ रहेको छ।
कार्तिक २० गते नयाँ बसपार्क क्षेत्रमा झिलिमिली बत्ती बिक्री गर्दै हिँडेका ताप्लेजुङका अर्जुन गुरुङ र पाँचथरका दोर्णबहादुर बेगा लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट बिर्तामोड–४ मा भएको आगलागीपछि चोरी गरिएका भनिएका ३५ पिस झिलिमिली बत्ती र एउटा टुलबक्स बरामद गरिएको प्रहरीले जनाएको छ।
फिल्डमा खटिने प्रहरीको योगदानको मूल्याङ्कन हुनुपर्ने
सीमित स्रोतसाधन र जनशक्तिका बीच नयाँ बसपार्क क्षेत्रमा प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद मण्डलको कमाण्डमा खटिएको टोलीले देखाएको सक्रियता प्रशंसनीय देखिएको छ। लागुऔषध नियन्त्रणदेखि चोरी, अवैध ओसारपसार र अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीको सक्रियताले स्थानीय स्तरमा सकारात्मक सन्देश दिएको छ।
यस अभियानमा सामाजिक अभियन्ता उपेन मेन्याङ्बो (लिम्बू) लगायत स्थानीय समुदायको सहकार्यसमेत उल्लेखनीय रहेको छ।
तर, फिल्डमा प्रत्यक्ष खटिएर जोखिम मोली परिणाममुखी काम गर्ने प्रहरी कर्मचारीको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने आवाज पनि उत्तिकै महत्त्वपूर्ण छ। मासिक तथा वार्षिक उत्कृष्ट प्रहरी छनोट गर्दा पद र पहुँचभन्दा कार्यसम्पादन, वास्तविक उपलब्धि र अपराध नियन्त्रणमा पुर्याएको योगदानलाई प्राथमिकता दिन आवश्यक छ।
काम गर्ने प्रहरीको मेहनत ओझेलमा नपरोस्। यस्ता कर्मचारीलाई उचित सम्मान र प्रोत्साहन गर्न सके प्रहरी सङ्गठनप्रतिको जनविश्वास अझ बलियो बन्नेछ।


