धरान ः धरानमा आठौँ मिस्टर कोशी प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतिभाशाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै शारीरिक सुगठन खेलको विकास र विस्तारमा योगदान पु¥याउने उद्धेश्यले एलाइनेट जिम धरानको आयोजनामा आगामी फागुन २९ र ३० गते प्रतियोगिता आयोजना गर्न लागिएको आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको हो ।
प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी गरी ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा सञ्चालन गरिने एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।
प्रत्येक तौल समूहमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई ट्रफी, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, ओभरअल समूहमा प्रथम हुने खेलाडीलाई रु.एक लाख २५ हजार, दोस्रोलाई रु.५० हजार तेस्रोलाई रु.४० हजार,चौथोलाई रु.३० हजार, पाँचौँलाई रु.२५ हजार र छैटौँ हुने खेलाडीलाई रु.२० हजार नगद पुरस्कार प्रदान गरिने लिम्बुले बताए ।
प्रतियोगितामा उत्कृष्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ्ड र उत्कृष्ट टिम विधामा समेत जनही रु.पाँच हजार नगद पुरस्कारसहित मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।


