आदिवासी जनजाति रंगशालाको एक करोड बजेट फिर्ता जाने निश्चित।



झापा,
कमल गाउँपालिका–५ मा रहेको आदिवासी जनजातिका नौ सयभन्दा बढी समाधि भत्काएर निर्माण सुरु गरिएको रंगशालाको नाम परिवर्तन गरी आर्थिक वर्ष ०७२/७३ को बजेटमा मदन भण्डारी राखिएको थियो । नाम परिवर्तन गरेर बजेट विनियोजन गरेपछि आदिवासी जनजातिले अवरोध गरेका थिए ।

मदन भण्डारी रंगशाला नाम राखेसँगै विवाद चर्किएपछि रंगशाला १३ वर्षदेखि अलपत्र छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा स्थानसमेत परिवर्तन गरी दमकमा मदन भण्डारी रंगशाला बनाउन बजेट विनियोजन गरेपछि झनै अन्योल भएको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा भने आदिवासी रंगशालाको नाममा एक करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटपछि आदिवासी रंगशाला बन्ने आशा जागेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जनाएको थियो।

तर, प्रदेश सरकारको बजेट पनि कार्यान्वयन हुन नसक्दा प्रतिष्ठानका पदाधिकारी चिन्तित छन् ।

चालू आर्थिक वर्षको अन्तिम महिनामा आइपुग्दा सम्म काम सुरु हुन नसक्दा छुट्याएको एक करोड बजेट फिर्ता जाने निश्चितजस्तै देखिएको छ ।