झापामा सिटी सफारी चोरीमा संलग्न १० जनाको गिरोह पक्राउ, ७ वटा सिटीसहित साढे २१ लाख बराबरको सामान बरामद



झापा । झापाका विभिन्न स्थानबाट सिटी सफारी चोरी गर्ने गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट चोरी भएका ७ वटा सिटी सफारीसहित करिब २१ लाख ५५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।

झापाको भद्रपुर, बिर्तामोड र काँकडभिट्टा लगायतका स्थानहरुबाट विभिन्न मिति र समयमा पार्किङ गरी राखिएका सिटी सफारी चोरी भएपछि प्रहरीले विशेष अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा सीसीटीभी फुटेजको सहायताले चोरीमा संलग्नहरुको हुलिया पहिचान गरी नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले चोरी गरिएका ७ वटा सिटी सफारी, २० थान ब्याट्री र एक थान चार्जिङ कन्ट्रोलर बरामद गरेको छ । बरामद सामानमध्ये सिटी सफारीको अनुमानित मूल्य १७ लाख ५० हजार, ब्याट्रीको ४ लाख र चार्जिङ कन्ट्रोलरको ५ हजार रुपैयाँ रहेको छ । बरामद सामानको कुल मूल्य २१ लाख ५५ हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–७ गैरीगाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरी भनिने रूपककुमार सरदार, बिर्तामोड नगरपालिका–७ मियाँबारी बस्ने ३१ वर्षीय मोहमद सलिम र मेचीनगर नगरपालिका–१० ताराबारी धाइजन ढाँट बस्ने ३० वर्षीय अभिषेक उराउ रहेका छन् ।

त्यस्तै चोरी भएका सिटी सफारीका ब्याट्री खरिद तथा बिक्रीमा संलग्न रहेको आरोपमा बिर्तामोड नगरपालिका–५ का ४३ वर्षीय नसिम अख्तर, भारत बिहार राज्य किशनगञ्ज जिल्ला स्थायी वतन भई अर्जुनधारा–६ मा डेरा गरी बस्ने २० वर्षीय एमडी जिगर आलम, अर्जुनधारा–८ का ३२ वर्षीय संजय चौधरी, मेचीनगर–७ इटाभट्टाका २० वर्षीय डिकेश राजवंशी, भारत पश्चिम बंगाल पानीटंकी घर भई मेचीनगर–१४ चारआली बस्ने ३२ वर्षीय पान बर्मु, भारत पश्चिम बंगाल बेलङ्गा थाना घर भई मेचीनगर–१४ चारआली बस्ने ३३ वर्षीय मोहम्मद साबिर मुल्ला र भारत पश्चिम बंगाल बरमपुर थाना घर भई मेचीनगर–१४ चारआली बस्ने ४७ वर्षीय आख्तरुल शेख पक्राउ परेका छन् ।

प्रहरीले प्रदेश नं. १–०१–००२ ह १६३०, मे १ ह १०५५, प्रदेश १–०१–००१ ह ५२६, प्रदेश १–०१–००२ ह ४९२०, प्रदेश १–०१–००२ ह ३७८४, प्रदेश १–०२–००१ ह ८७१८ र प्रदेश १–०१–००२ ह २१७ नम्बरका सिटी सफारी बरामद गरेको जनाएको छ ।

यस्तै मेचीनगर–७ इटाभट्टास्थित कवाडी पसलबाट ४ थान ब्याट्री, मेचीनगर–१४ चारआलीस्थित कवाडी पसलबाट ४ थान ब्याट्री, अर्जुनधारा–८ शनिश्चरेस्थित कवाडी पसलबाट ४ थान ब्याट्री, अर्जुनधारा–६ स्थित एमडी जिगर आलमको कोठाबाट ८ थान ब्याट्री तथा अर्जुनधारा–११ बुट्टाबारीस्थित कवाडी पसलबाट ४ थान ब्याट्री र एक थान चार्जिङ कन्ट्रोलर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

यस घटनासम्बन्धी पीडितहरुले जिल्ला प्रहरी कार्यालय झापामा ३ वटा, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ३ वटा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा एउटा चोरी सम्बन्धी जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ ।