झापा । झापाको बिर्तामोड क्षेत्रमा पछिल्लो केही दिनदेखि लुटपाट तथा चोरीका घटना भइरहेको अवस्थामा प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक युवकलाई पक्राउ गरेको छ।
सीसीटीभी फुटेजमा अपरिचित व्यक्तिले धारिलो हतियार देखाएर लुटपाट गर्ने गरेको दृश्य देखिएपछि प्रहरीले सूक्ष्म निगरानी र खोजी कार्य तीव्र बनाएको थियो। सोही क्रममा बिर्तामोडस्थित अस्थायी प्रहरी बिट नयाँ बसपार्क बाट खटिएको प्रहरी टोलीले शंकास्पद युवकलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२, शान्तिनगरका एक युवक रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका युवकको साथबाट चोरी भएको भनिएको एक थान रेडमी मोबाइल र लागुऔषध ब्राउन सुगरसमेत बरामद भएको छ।
पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा राखिएको छ। घटनामा उनको संलग्नता तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।


